काठमाडौं, मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलको छाता संगठन अपेन बूढानीलकण्ठद्वारा आयोजित ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ भव्य रूपमा सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिकाको उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता तथा अपेन बूढानीलकण्ठ अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, प्याब्सन काठमाडौं जिल्ला सहसचिव कृष्ण भण्डारी, प्याब्सन बूढानीलकण्ठ नगर अध्यक्ष राधेश्याम श्रेष्ठ, बूढानीलकण्ठ शैक्षिक मञ्च अध्यक्ष कृष्ण प्रसाद लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ का अध्यक्ष श्रीराम केसी, वडा नं.-६ का अध्यक्ष रवि खड्का र वडा नं.-७ का अध्यक्ष बस नारायण महर्जन लगायत अपेनका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
अपेन बूढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष विनोद थापाको संयोजनमा कमलादीस्थित प्रज्ञा भवनमा भएको कार्यक्रममा बूढानीलकण्ठ नगर क्षेत्रभित्र सञ्चालनमा रहेका मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलका बालबालिकाहरुले विभिन्न प्रस्तुति गरेका थिए। विशेषगरी नेपाली मौलिक कला र संस्कृति झल्काउने र ऐतिहासिक अवस्था चित्रण हुने बाल प्रस्तुतिले उपस्थित सबैको मन छोएको थियो। अतिथिका रूपमा आएका एसओएसका फरक क्षमता भएका बालबालिकाले व्हीलचेयरमा गरेको नृत्यले सबैलाई भावुक बनाएको थियो भने बाल विकासबाट उपस्थित बालबालिकाको अत्यन्तै भिन्न खाले प्रस्तुतिले सबैको मनलाई आकर्षित बनाएको थियो। अवोध बालबालिकाले आफ्नो क्षमताअनुसार प्रस्तुत गरेको प्रस्तुति हेरेर सबै अतिथिलगायत अभिभावक खुशीले गदगद भएका थिए।
अपेन केन्द्रका सदस्य तथा बागमती प्रदेश संयोजक कृष्ण बोहराले मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलका सानासाना बालबालिकाको स्याहारसुसार गर्दै सामाजिकीकरणको माध्यमबाट एक योग्य र असल नागरिक बनाउने कार्यमा लागीपरेका मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलका शिक्षक कर्मचारीको प्रशंसा गरेका थिए। बूढानीलकण्ठ नगर क्षेत्रका मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलका बालबालिकाहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई शारीरिक, मानसिक र सामाजिक विकास गराउने उदेश्य लिएर अपेन किड्स ट्यालेन्ट ट्रायल कार्यक्रम आयोजना गर्न थालिएको बताए। नगरपालिकाले निर्माण गर्ने नगर शिक्षा समितिमा अपेन बूढानीलकण्ठका प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने बोहराले जोड दिए।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नगर शिक्षा प्रमुख ललित विक्रम सिंहले मन्टेश्वरी तथा प्रिप्राईमरी स्कुलको छाता संगठन अपेन बूढानीलकण्ठ बालबालिकाको सर्वाङ्गिन विकासका लागि क्रियाशील रहेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए। अपेनले बालबालिकाको निम्ति गर्ने रचनात्मक क्रियाकलापमा आफ्नो र शिक्षा महाशाखाको सदैव साथ रहने बताए।
बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले कार्यक्रममा बोल्दै कार्यक्रम हेर्दाहेर्दै आफूलाई कविता फुरेको भनेर कविता वाचन गरेर सुनाएकी थिइन्। आमाको काखमा भएका सानासाना बालबालिकालाई स्कुलमा ल्याएर यस्तो मौलिक नेपाली कला र संस्कृति प्रस्तुत गर्ने अद्भुत क्षमता प्रदान गर्ने शिक्षक कर्मचारीको मुक्त कण्ठके प्रशंसा गरेकी थिइन्। बालबालिका देशका कर्णधार हुन् भनेर कथनमा मात्रै सिमित नगरेर उनीहरुलाई मनोवैज्ञानिक तवरले आवश्यक अवसर प्रदान गरेर सर्वाङ्गिन विकास गराई राष्ट्रको योग्य, असल र सक्षम नागरिक नागरिक बनाउनु जरुरी भएको बताएकी थिइन्। बालबालिकाको सर्वोपरि हितका निम्ति उत्कृष्ट कार्ययोजना निर्माण गरि नगरमा ल्याउन अपेन बूढानीलकण्ठलाई आग्रह गर्दै त्यसको कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
कार्यक्रममा सहभागी मन्टेश्वरी तथा प्रि-प्राईमरी स्कुललाई प्रमाणपत्र, अपेन बूढानीलकण्ठलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेर अध्यक्ष राजकुमार घिमिरेले कार्यक्रम समापन गरेका थिए।