स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन्।
सञ्चारकर्मी सँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमवार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताएका छन्।
सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनले बताए।
उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउने गरिएको टिप्पणी गरे ।
पीडित र अभियुक्तको बयान फेर्न र अनुसन्धानको दायरालाई साँघुरो बनाउन खोजिएको भनेर नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी र महान्यायाधिवक्ता कार्यालय उच्च पदस्थ पदाधिकारीले संसदमा आवाज उठाउन आफूलाई आग्रह गरेको उनको भनाइ छ।
यसै विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएपछि विरोधस्वरुप अर्धनग्न भएको उनले स्पष्ट पारे। तोडफोड, हत्याहिंसामा आफूले विश्वास नराख्ने भन्दै उनले आफ्नै शैलीमा विरोध जनाएको बताए।
१५ वर्षको भ्रष्टाचारका कारण नेपाली समाज अर्धनग्न भइसकेको उल्लेख गर्दै उनले जनताको चित्कार सुनेर आफूले विरोध जनाएको बताए। विरोधको यस्तो शैली मेक्सिको, क्यानडा लगायतका धेरै ठाउँमा पनि अभ्यासमा रहेको उनको भनाइ छ।
विरोधको आफ्नो शैलीबाट कसैलाई असर परेको भए क्षमा गरिदिन समेत उनले आग्रह गरे।