६४औं वार्षिकोत्सवको अवसरमा आजबाट प्रसूतिगृहमा अनलाइन टिकटको व्यवस्था तथा जनरलतर्फ ४५० शय्या निःशुल्क

HTV Khabar २० भाद्र २०८०, बुधवार ०७:०१ मा प्रकाशित

काठमाडौं, आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ। अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो। अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ।

स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ। अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए। उनले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भएपनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए।

निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसुतीतर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे। उनले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ संघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे। उनले गत आर्थिक वर्षमा अस्पतालले बहिरंग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरुले सेवा लिएको जानकारी दिए।

उनले प्रसूतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसती डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताए। उनका अनुसार २४ हजार ६७२ जना प्रसुती डेलीभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको हो।

निर्देशक अधिकारीले स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा २ हजार ९६४ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि (ल्याप्रोस्कोपिक) र २ हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपाचार गरिएको बताए।

गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको उनको भनाइ छ। स्त्रीरोग अस्पातल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट  शुरुवात भएको थियो।