वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ। बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो।
याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा उक्त बियर बरामद गरिएको छ। निरीक्षण टोलीले आवश्यक कारवाहीका लागि गोदाम सिलवन्दी गरेको छ।६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ।
‘विशेषगरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता/डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको विभागले जनाएको छ । त्यस्ता कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोग तर्फ विशेष चनाखो रहन र त्यसरी बिक्री वितरण गरिएको थाहा भए जानकारी गराउन विभागले अनुरोध गरेको छ।