डेङ्गु संक्रमणको कारण उदयपुरमा एकको मृत्यु

HTV Khabar ८ अशोज २०८०, सोमबार ०८:५१ मा प्रकाशित

उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ।

खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए।

गत सातादेखि डेंगु सङ्क्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो।

घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रवार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उनको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन्।