काठमाडौं, भारतीय काङ्ग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। बुधबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार खड्गेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेको इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ।
कूल ९ हजार ३ सय ८५ मतदाता रहेकोमा खड्गेका निकटतम प्रतिद्वन्द्वी शशी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन्। खड्गेले अब काङ्ग्रेसकि अन्तरिम अध्यक्ष सोनियाँ गान्धीलाई प्रतिस्थापन गर्नेछन्। गान्धी सन् २०१९ यता काङ्ग्रेस पार्टीको अन्तरिम अध्यक्षको भूमिकामा रहेकी छिन्।
खड्गे विगत दुई दशकमा काङ्ग्रेसको नेतृत्व सम्हाल्ने पहिलो गैर गान्धी परिवारका सदस्य समेत बन्न पुगेका छन्।
सन् २०१९ मा भएको आम निर्वाचनमा काङ्ग्रेसले राम्रो नतिजा ल्याउन नसकेपछि तात्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए। राहुलको स्थानमा सोनियाँले पार्टीको नेतृत्व सम्हालेकी हुन्।
नवनिर्वाचित अध्यक्ष खड्गेलाई पराजित उम्मेदवार थरुरले बधाई दिएका छन्। १ हजार मत प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय रहेको बताउँदै थरुरले खड्गेलाई सफल कार्यकालको शुभकामना समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।