गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै

HTV Khabar १८ असार २०८०, सोमबार ०८:४५ मा प्रकाशित

नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औं  जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो। जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखेका छन्।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिको मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए।

कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय काङ्ग्रेसको पार्टी सभापति भएर काम गरेका थिए।