काठमाडौं महानगरले सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्यांक खोज्ने

HTV Khabar ४ अशोज २०७९, मङ्गलबार ०५:३६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ। सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ।

तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन। महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा आधारभूत विद्यालय छन्। ४/५ वटा आधारभूत र २० वटा माध्यमिक विद्यालयले सम्पत्ति बहालमा लगाएर आम्दानी गरिरहेको महानगरपालिकाको अनुमान छ।

महानगरपालिकाको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले सम्पत्ति बहालमा दिने विद्यालयहरुको तथ्यांक संकलन गरिरहेको बताए।

सम्पत्ति बहालमा लगाउने विद्यालयमा काठमाडौं ठमेलको जुद्धोदय मावि पनि एक हो। उसले २०६५ सालमा बनेको उत्तर पूर्वतर्फको पाँच तले भवन भाडामा दिएको छ। विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेल भन्छन् ‘हामीले ठेकेदारलाई लिजमा दिएका छौं, महानगरले हामीसँग होइन, ठेकेदारसँग मागेको होला।’

बाँसबारीस्थित बाँसबारी माविले पनि पाँच वटा सटर भाडामा लगाएको छ। सडकसँगैका कक्षाकोठामा गाडीको आवाजले पठनपाठन गराउन समस्या हुने भएपछि सटर बनाएर भाडामा लगाएको प्रधानाध्यापक अनिल झाले बताए।

महानगरपालिकाले बहाल कर तिर्न सूचना जारी गरेको जानकारी पाएको तर पत्र नपाएको उनले बताए। ‘विद्यासुन्दर शाक्य मेयर हुँदा बहाल करबारे छलफल भएको थियो। सम्पत्ति बहालमा दिएका विद्यालयबाट कर उठाई कमजोर विद्यालयहरुको लागि प्रयोग गर्ने कुरा भएको थियो’ उनले भने। महानगरपालिकालाई बहाल कर तिर्न कुनै समस्या नभएको प्रधानाध्यापक झाले बताए।

प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले भने धेरै वर्षदेखि बहाल कर तिर्दै आएको बतएको छ। प्रधानाध्यापक नारायण गौतम भन्छन्, ‘महानगरले सूचना जारी गरेको छ। तर हामीले त वडा कार्यलयमा बहाल कर तिर्न थालेको धेरै भयो।’

रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्या माध्यामिक विद्यालय, पशुपति मित्र माध्यामिक विद्यालय लगायतले पनि आफ्नो सम्पत्ति बहालमा लगाएका छन्।