चितवन - २ मा भारी मतान्तरले रवि लामिछाने विजयी

HTV Khabar १२ वैशाख २०८०, मङ्गलबार ०१:१५ मा प्रकाशित

चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन्। निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन्। विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गरे।

यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गरे। राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे। चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो। जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए। गत मंसिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए। नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गरेका थिए।

गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो। त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो। उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए। मंसिरमा १० दल र छ स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा थिए भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए। चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन्।