नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अफ्ठ्यारो भएको बताएका छन्।
शनिवार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संसारमा कहिँ नभएको ७० वर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताएका हुन्।
उनले ७० वर्षको उमेरहदका विषयमा असन्तुष्टि जनाउनु राजनीतिक विषय नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका पदमा चुनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिए।
ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्किएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गरे। एमालेलाई एकताबद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उनको भनाइ छ।
ओलीले अनावश्यक विषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए।