काठमाडौं, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मङ्गलवार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन्।
४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन्। २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर उनी हालसम्म फरार छन् ।