काठमाडौं, चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान भित्र्याएको छ। नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत गरेको हो।
‘केरुङ/सुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुरु भएको छ। नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ ‘चीन नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन छ।’
कोभिड महाहारी पछि लामो समय नेपाल चीन नाकामा अवरोध देखिएको थियो। नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो।
केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्तु चीनतर्फ निर्यात भएका थिए।