बैंकमा थुप्रियो दुई सय किलो सुन, आयातको सिफारिस दिन बन्द

HTV Khabar २९ जेठ २०८०, सोमबार ०४:४० मा प्रकाशित

काठमाडौं, सुनको माग नभएपछि आयात भएको सुन बैंकमा स्टक बस्न थालेको छ। बजेट अघि र पछि आयात भएको सुन बजारमा माग नभएका कारण स्टक बसिरहेको बैकर्स संघले जनाएको छ।

जेठ महिनापछि बजारमा सुनको कारोबारमा कमी आएको छ। बजेटमा करको दर बढेपछि व्यवसायीले पनि बैंकबाट सुन खरीद गर्न छाड्दा स्टक बस्न थालेको संघकी कर्मचारी सविना श्रेष्ठले बताईन्। उनका अनुसार बैंकसँग अहिले दुई सय किलो सुन स्टक छ। एक सय किलो बजेट आउनुअघि र एक सय किलो सुन पछि आएको उनले जानकारी दिईन्। माग नआएपछि सुन आयातको नयाँ सिफारिस दिन रोकेको श्रेष्ठले जानकारी दिईन्।

जेठ महिनामा अन्य समयको भन्दा कम सुन कारोबार हुने गर्छ। बजेटबाट सुनको भन्सार दर ५ प्रतिशतले बढेर १५ प्रतिशत पुगेको छ। थप २ प्रतिशत बिलासी कर लागेको छ। यो करसँगै सुनको मूल्य पनि आकासिएको छ।

सुनको मूल्य तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको छ। उपभोक्ता पनि महँगो मूल्यकै कारण किन्न चाहिरहेका छैनन्। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेट अघि आयात भएको सुन पूरानै भन्सार दर अनुसार दिन माग गरेको छ।महासंघले पूरानै मूल्यमा सुन दिन भन्दै पत्राचार समेत गरेको छ। पहिला खरीद गरेको सुनको मूल्यमा नयाँ भन्सार दर कायम गरे नकिन्ने जानकारी महासंघले संघलाई दिएको छ।